सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
काठमाडौं । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीच १४ बुँदे सहमति भएको छ।
शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच विभिन्न विषयमा १४ बुँदे सहमति भएको हो। सरकार र प्रसाईँ समूहबीच लामो समयदेखि देखिँदै आएको मतभेद तथा आन्दोलनका विषयलाई सम्बोधन गर्ने उद्देश्यसहित वार्ता भएको बताइएको छ।
सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।
वार्ताबाट भएको सहमतिले महाअभियानले उठाउँदै आएका माग तथा सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई औपचारिक रूपमा अघि बढाउने बाटो खुलेको छ।
सहमतिका बुँदाहरू कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।
सरकार र प्रसाईँ नेतृत्वको समूहबीच भएको यो सहमति राजनीतिक तथा सामाजिक रूपमा चासोको विषय बनेको छ। पछिल्लो समय महाअभियानले विभिन्न मागसहित सरकारमाथि दबाब बढाउँदै आएको अवस्थामा भएको १४ बुँदे सहमतिलाई महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।
