गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न नेपाल प्रहरीको आग्रह
काठमाडौँ, १० भदौः नेपाल प्रहरीले हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिका सम्बन्धमा गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न आम सर्वसाधारण नागरिकमा आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले आज सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा विपद्बाट भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सामग्री सम्प्रेषण तथा शेयर नगर्न अनुरोध गरेको हो ।
प्रहरीले पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ ।
त्यस्तै, उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीका अनुसार विपद्को यस्तो संवेदनशील अवस्थामा गलत सूचनाले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्छ ।
