रसुवामा पहिरोमा परी ३६ प्रहरी सम्पर्कविहीन (अपडेट)
काठमाडौं, १० भदौ । रसुवामा आएको बाढी तथा पहिरोका कारण ३६ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा आएको पहिरोमा परी ड्युटीमा खटिएका ३६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन्।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढी तथा पहिरोका कारण सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएपछि उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालनप गरिएको छ।
घटनास्थलको अवस्था र सम्पर्कविहीन प्रहरीको थप विवरण संकलन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैबीच, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीका टोलीसमेत परिचालन भएका छन्।
उद्धार कार्यलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा तथा विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।
