Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘जनकपुरधाममा पर्यटकलाई टिकाइराख्न आवश्यक संरचना निर्माण गरिने’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार | रासस

जनकपुरधाम, २३ साउनः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधाम आउने पर्यटकलाई टिकाइराख्न आवश्यक पर्यटन संरचना निर्माण गरिने बताउनुभएको छ ।

जनकपुरधामस्थित श्रीराम युवा समितिको नवनिर्वाचित पदाधिकारीहरूको आज शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री यादवले जनकपुरधाम धार्मिक र पर्यटन दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त सहर भएकाले यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको स्तरोन्नति गरी नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माण गरिने बताउनुभयो ।

जनकपुरधामलाई सफा, हराभरा र व्यवस्थित पर्यटकीय सहर बनाउन प्रदेश सरकारको साथ, सहयोग र प्रतिबद्धता रहने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री यादवले जनकपुरधाममा निर्माणाधीन रामजानकी अन्तरराष्ट्रिय रङ्गशाला सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै पर्यटकको आकर्षण बढाउन रामजानकी विवाह मण्डपको स्तरोन्नतिको कामसमेत अगाडि बढाइएको जानकारी दिनुभयो ।

जनकपुरधाममा रामायण स्पिरिचुअल पार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताउनुुहुँदै मुख्यमन्त्री यादवले पछिल्लो समय जनकपुरधाममा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको महागङ्गा आरतीलाई अझ भव्य र व्यवस्थित बनाउने योजना पनि प्रदेश सरकारले अघि सारेको बताउनुभयो । उहाँले जनकपुरधाम पहिलेको तुलनामा फराकिलो र सफा देखिन थालेको उल्लेख गर्नुहुँदै यसलाई अझ स्वच्छ, हराभरा तथा पर्यटकमैत्री बनाउन प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा स्थानीय क्लब र संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । जनकपुरधामको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनकपुरधाममा रहेको ५२ कट्ठा ७२ धुर क्षेत्रफलको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा सबै पक्ष जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

श्रीराम युवा समितिका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रदेशसभा सदस्य तथा मधेस प्रदेश सरकारका पूर्वमन्त्री वीरेन्द्र सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतले नवनिर्वाचित समितिका पदाधिकारीलाई शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan