बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउन जोड
काठमाडौँ, ५ भदौ : बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिबिस)ले आज आयोजना गरेको ‘बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यशालाका वक्ताहरूले बालबालिकासँग सम्बन्धित विषयलाई संवेदनशील, जिम्मेवार र बालमैत्री ढङ्गले सञ्चारमाध्यममा उठाउनुपर्ने बताएका हुन् ।
कार्यशालामा संस्थाका अध्यक्ष विमला ज्ञवालीले बालबालिकाको अधिकार र संरक्षणका सवालमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा बालश्रमका घटनालाई तथ्यमा आधारित भएर सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।
सहजकर्ता अधिकारकर्मी तारक धितालले बाल संरक्षणका विषयमा समाचार सम्प्रेषण गर्दा बालबालिकाको गोपनीयता, पहिचान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
अर्का सहजकर्ता शिक्षा पत्रकार प्रकाश सिलवालले बालबालिकाका सवाललाई नियमित सञ्चारको प्राथमिकतामा राख्दै समस्यामात्र नभई समाधानमुखी र सकारात्मक अभ्यासलाई समेत समाचारमा स्थान दिनुपर्ने बताउनुभयो ।
कार्यशालामा बाल संरक्षणको वर्तमान अवस्था, बालश्रम, बाल यौन दुव्र्यवहार, बालबालिकासम्बन्धी समाचार सम्प्रेषणका क्रममा देखिएका अभ्यास तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल गरिएको थियो । नेपालमा हाल ११ लाख बाल श्रमिक छन् ।
