‘डिजिटल अधिकारको उपयोग गर्दा सचेत हुन आवश्यक छ’
कास्की, २५ साउनः तीव्र गतिमा विकसित भइरहेको डिजिटल सूचना प्रणालीको सुरक्षित, जिम्मेवार र व्यावसायिक प्रयोगमा पत्रकारहरू सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
डिजिटल राइट्स नेपालको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘डिजिटल अधिकार र प्रेस स्वतन्त्रता’ सम्बन्धी दुईदिने तालिममा डिजिटल प्रविधि र प्लेटफर्मको प्रयोगसँगै पत्रकारको डिजिटल सुरक्षा र अधिकार संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो ।
तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारका डिजिटल प्लेटफर्ममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । उहाँले डिजिटल अधिकारको उपयोग गर्दा आवश्यक सावधानी अपनाउन नसके त्यसले गम्भीर जोखिम निम्त्याउन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष शर्माले भन्नुभयो, “सरकारले अहिलेको वर्षलाई कानुन बनाउने वर्ष भनेको छ । वर्तमान संविधान जारी भएपछि सञ्चारमाध्यमसम्बन्धी कानुन बन्ने क्रममा छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेन्टी गरेकाले डिजिटल प्लेटफर्मको प्रयोग गर्दा स्वतन्त्रतासँगै सुरक्षित बनाउन जरुरी छ । यसो गरे मात्र नागरिकको अधिकार संरक्षण गर्न सक्छौँ ।” प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन हुन नदिन तथा नागरिकको अधिकार सुनिश्चित गर्न महासङ्घले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र कास्की शाखाका अध्यक्ष माधव बरालले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गलत सूचना र भ्रामक सामग्री फैलिन नदिन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलले डिजिटल अधिकार संरक्षणका लागि डिजिटल सुरक्षा महत्त्वपूर्ण विषय भएकाले संस्थाले सन् २०२० देखि डिजिटल सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका २२ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा डिजिटल अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक, गोपनीयता, डिजिटल सुरक्षा तथा साइबर सुरक्षालगायत विषयमा ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ ।
