गोलानमा इजरायली दाबीलाई कोलम्बियाको मान्यता
बोगोटा, २६ साउन : कोलम्बियाको नवनियुक्त दक्षिणपन्थी सरकारले सिरियाबाट सन् १९६७ मा इजरायलले कब्जा गरेको गोलान हाइट्समा इजरायलको सार्वभौमिकता र नियन्त्रणलाई मान्यता दिएको छ ।
राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेला नेतृत्वको सरकारले पदभार सम्हालेको केही दिनमै लिएको यो निर्णयले कोलम्बियाको अघिल्लो सरकारको इजरायलसम्बन्धी नीतिमा ठूलो परिवर्तन ल्याएको छ ।
कोलम्बियाको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिँदै बाह्य खतराबाट आफ्नो रक्षा गर्ने इजरायलको अधिकारलाई पनि समर्थन गरिएको जनाएको छ ।
विज्ञप्तिमा गोलान हाइट्समा इजरायलको नियन्त्रण र सार्वभौमिकता कायम रहनु उसको राष्ट्रिय सुरक्षाको आवश्यक पक्ष भएको कोलम्बिया सरकारले स्वीकार गरेको उल्लेख छ ।
सन् १९८१ मा इजरायलले गोलान हाइट्सलाई औपचारिक रूपमा आफ्नो भूभागमा गाभेको घोषणा गरेको थियो । उक्त कदमलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको छैन । संयुक्त राज्य अमेरिका भने त्यसबेला इजरायलको कदमलाई मान्यता दिने एक मात्र देश बनेको थियो ।
संयुक्त राष्ट्रसङ्घले गोलान हाइट्सलाई इजरायली सैन्य कब्जामा रहेको सिरियाली भूभागका रूपमा मान्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत महिना पनि इजरायलको कब्जा ‘पूर्णतया अस्वीकार्य’ रहेको दोहोर्याउँदै गोलान हाइट्स सिरियाको हिस्सा भएको बताउनुभएको थियो ।
कोलम्बियाका राष्ट्रपति डे ला एस्प्रियेलाले शुक्रबार मात्र पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । चुनावी अभियानका क्रममा उहाँले कोलम्बियाभित्र सक्रिय सशस्त्र समूहविरुद्ध कडा नीति अपनाउने तथा अमेरिका र इजरायलसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नवनियुक्त राष्ट्रपतिको सरकारले इजरायलसँग सम्बन्ध सुधार गर्ने नीति अघि बढाइरहेका बेला गोलान हाइट्ससम्बन्धी निर्णय आएको हो ।
यसअघि वामपन्थी पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोले गाजामा इजरायली सैन्य कारबाहीको कडा आलोचना गर्नुभएको थियो । उहाँको सरकारले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्नुका साथै कोलम्बियामा इजरायली हतियार आयातमा समेत रोक लगाएको थियो ।
हालका राष्ट्रपति डे ला एस्प्रियेलाले भने इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गत महिना उहाँले इजरायलले आफ्नो राजधानीका रूपमा दाबी गर्दै आएको जेरुसेलममा कोलम्बियाको दूतावास खोल्ने योजना सार्वजनिक गर्नुभएको थियो । जेरुसेलमको हैसियत भने अन्तर्राष्ट्रिय रूपमा विवादित छ र अधिकांश देशले आफ्ना कूटनीतिक नियोग तेल अभिभबाट सञ्चालन गर्दै आएका छन् ।
इजरायलका विदेशमन्त्री गिदोन सारले कोलम्बियाको निर्णयको स्वागत गर्दै राष्ट्रपति डे ला एस्प्रियेलालाई धन्यवाद दिनुभएको छ । उहाँले राष्ट्रपतिलाई आफ्नो ‘असल मित्र’ भन्दै गोलान हाइट्ससम्बन्धी मान्यताका लागि आभार व्यक्त गर्नुभएको हो ।
विदेशमन्त्री सारका अनुसार राष्ट्रपति डे ला एस्प्रियेलाको शपथ ग्रहण हुनुभन्दा एक दिनअघि कोलम्बियाको बारानक्विलामा भएको भेटमा दुवै पक्षबीच गोलान हाइट्ससम्बन्धी निर्णयमा सहमति भएको थियो ।
शपथ ग्रहण समारोहमा सहभागी हुनुभएका सारले सामाजिक सञ्जाल एक्समा ऐतिहासिक इजरायली भूमिमा यहुदी जनताको निरन्तर अस्तित्व सुनिश्चित गर्न रक्षात्मक सीमाहरू आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
गोलान हाइट्स रणनीतिक दृष्टिले महत्त्वपूर्ण उच्च भूभाग हो । सन् १९६७ को मध्यपूर्व युद्धका क्रममा इजरायलले सिरियाबाट यसको ठूलो भाग कब्जा गरेको थियो । सन् १९८१ मा इजरायलले उक्त क्षेत्रलाई आफ्नो कानून, प्रशासन र अधिकार क्षेत्रभित्र ल्याउने निर्णय गरे पनि संयुक्त राष्ट्रसङ्घ र अधिकांश मुलुकले त्यसलाई मान्यता दिएका छैनन् ।
कोलम्बियाको पछिल्लो निर्णय राष्ट्रपति डे ला एस्प्रियेलाले अमेरिका र इजरायलसँग सम्बन्ध सुदृढ गर्ने घोषणा गरेअनुरूप आएको हो । उहाँको सरकारले अघिल्लो प्रशासनको इजरायल तथा गाजासम्बन्धी नीतिबाट स्पष्ट दूरी बनाउँदै नयाँ कूटनीतिक दिशा अघि बढाउने सङ्केत गरेको छ ।
कोलम्बियामा राष्ट्रपति डे ला एस्प्रियेलाले पदभार सम्हालेकै बेला पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएर कम्तीमा १११ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद्का बीच सरकारले गोलान हाइट्ससम्बन्धी आफ्नो नयाँ नीति सार्वजनिक गरेको हो ।
