स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस
संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले स्वायत्त हतियारको विकास र प्रयोगलाई नियन्त्रण गर्न तत्काल अन्तरराष्ट्रिय नियम बनाउन विश्व समुदायलाई आग्रह गरेका छन् । उनीहरूले मानिसलाई आफैँ लक्षित गर्न सक्ने ‘हत्यारा रोबोट’को जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिकले सन् २०२३ मा गरेको आह्वान दोहो¥याउँदै स्वायत्त हतियारमा विशेष प्रतिबन्ध र नियन्त्रणका उपाय तत्काल आवश्यक रहेको बताउनुभएको हो ।
“आज हामी यो आह्वानलाई अझ बढी आवश्यकताका साथ दोहो¥याउँछौँ,” उहाँहरूले मङ्गलबार जारी संयुक्त विज्ञप्तिमा भन्नुभएको छ । उहाँहरूका अनुसार स्वायत्त हतियारबाट उत्पन्न जोखिम पछिल्ला वर्षमा थप बढेको छ ।
“मेसिनले स्वायत्त रूपमा मानिसलाई लक्षित गर्ने अवस्थासहितको नैतिक रातो रेखा पार गर्ने खतरनाक रूपमा नजिक पुगेका छौँ,” उहाँहरूले चेतावनी दिनुभएको छ । घातक स्वायत्त हतियार प्रणालीले मानवको प्रत्यक्ष हस्तक्षेपबिना लक्ष्य पहिचान, छनोट र त्यसविरुद्ध बल प्रयोग गर्न सक्छ । हालसम्म पूर्ण रूपमा स्वायत्त हतियार प्रयोग भएको पुष्टि भएको छैन । तर मध्यपूर्व र युक्रेनलगायतका क्षेत्रमा जारी द्वन्द्वमा ड्रोन तथा कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिको प्रयोग बढ्दै गएपछि यस्तो अवस्था आउन सक्ने चिन्ता बढेको छ ।
हाल स्वायत्त तथा कृत्रिम बुद्धिमत्तामा आधारित हतियारलाई विशेष रूपमा नियमन गर्ने अन्तरराष्ट्रिय सन्धि छैन । “स्वायत्त हतियार प्रणाली टाढाको भविष्यको विषय होइन । हतियार प्रणालीमा ठूलो स्वायत्ततातर्फको दौड यसअघि नै सुरु भइसकेको छ,” गुटेरेस र स्पोल्जारिकले भन्नुभएको छ ।
उहाँहरूले यस्ता हतियार विकासमा सङ्लग्न वैज्ञानिक तथा इन्जिनियरले सम्भावित जोखिमबारे चेतावनी दिइरहेको उल्लेख गर्नुभएको छ । “यस्तो प्रविधिका निर्माता नै सीमाका लागि आह्वान गरिरहेका बेला राज्य निष्क्रिय रहन सक्दैनन्,” उहाँहरुले भन्नुभएको छ ।
स्वायत्त हतियारको प्रयोगलाई नियमन गर्ने सम्भावित अन्तरराष्ट्रिय सन्धिबारे करिब एक दशकदेखि छलफल हुँदै आएको छ । तीन वर्षको छलफलपछि राष्ट्रले आगामी नोभेम्बरमा औपचारिक सन्धि वार्ता सुरु गर्ने वा नगर्नेबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।
