शिविरको दयनीय अवस्थाविरुद्ध रोहिङ्ग्या शरणार्थीको प्रदर्शन
म्यानमामा सैन्य दमनका कारण विस्थापित भएको नौ वर्ष पूरा भएको अवसरमा बङ्गलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा रहेका हजारौँ रोहिङ्ग्या शरणार्थीले शिविरको दयनीय अवस्थाको विरोधमा प्रदर्शन गरेका छन् ।
सन् २०१७मा म्यानमाबाट ठूलो सङ्ख्यामा विस्थापित भएका रोहिङ्ग्यासहित १२ लाखभन्दा बढी शरणार्थी बङ्गलादेशको कक्स बजारमा रहेका करिब ३० वटा शिविरमा बस्दै आएका छन् । यी शिविरलाई विश्वकै ठूलो शरणार्थी बस्तीमध्ये एक मानिन्छ ।
रोहिङ्ग्या शरणार्थीको समूह ‘युनाइटेड काउन्सिल अफ रोहिङ्ग्या’ (यूसीआर)ले भोगेका अत्याचारको स्मरण तथा जारी मानवीय सङ्कटबारे ध्यानाकर्षण गराउन ¥याली आयोजना गरिएको जनाएको छ ।
सन् २०१७ मा बङ्गलादेश भागेकी ३२ वर्षीया साबिकुन्नहारले त्यसबेलाका घटनाको सम्झना अझै पीडादायी रहेको बताउनुभयो । “हाम्रा आफन्तको हत्या भयो, घरमा आगो लगाइयो र हामीलाई आफ्नो भूमिबाट लखेटियो,” उहाँले भन्नुभयो “देशको सम्झनामा आज पनि मेरा आँखाबाट आँसु आउछन् ।”
मानवीय सहायता उपलब्ध गराउने संस्थाका अनुसार अन्तरराष्ट्रिय कोषमा आएको कमी र खाद्य सहायता घटाइएका कारण शिविरको अवस्था थप कठिन बनेको छ । शिविरमा बस्ने कुल जनसङ्ख्याको आधाभन्दा बढी बालबालिका रहेको बताइएको छ ।
शिविरमा ‘सेभ द चिल्ड्रेन’को कार्यक्रम सञ्चालन गरिरहेका गुलाम मुस्तफाले रोहिङ्ग्या बालबालिकाको एक पुस्ता नै निर्वासनमा हुर्किरहेको बताउनुभयो ।
“सुरक्षा, अधिकार र दिगो समाधानतर्फ प्रगति हुनुको सट्टा परिवारले बढ्दो भोकमरी, घट्दो अवसर र भविष्यप्रतिको गहिरिँदो अनिश्चितता सामना गरिरहेका छन्,” उहाँले भन्नुभयो ।
‘सेभ द चिल्ड्रेन’का अनुसार आगामी सेप्टेम्बरदेखि डिसेम्बरसम्म तीनमध्ये एक शरणार्थीले सङ्कटपूर्ण वा त्योभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।
गत वर्ष बङ्गलादेश आएका ४१ वर्षीय मौलवी अब्दुस सलामले हिंसाका कारण आफ्नो परिवार म्यानमाबाट भाग्न बाध्य भएको बताउनुभयो । उहाँले बङ्गलादेशमा शरणार्थीका रूपमा जीवन बिताउँदा थप कठिनाई सामना गर्नुपरेको र उपलब्ध खाद्य सामग्रीले बढीमा २० दिनसम्म मात्र धान्ने गरेको बताउनुभयो ।
“हामी शरणार्थीको जीवन जिउन चाहँदैनौँ,” मौलवीले भन्नुभयो । प्रस्तावित स्वदेश फिर्ती प्रक्रियाले रोहिङ्ग्याको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्नेमा उहाँले प्रश्न उठाउनुभयो ।
“हामीलाई सुरक्षित रूपमा घर फर्कने वातावरण सिर्जना गरिदिन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्छौँ,” उहाँले भन्नुभयो । शिविरमा बढ्दो निराशाका कारण केही शरणार्थी समुद्रमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सहायता संस्थाहरूले बताएका छन् ।
सन् २०१७ मा बङ्गलादेश आएका ७५ वर्षीय सिकन्दरले म्यानमा सुरक्षित रूपमा फर्कन सकिनेमा आफूलाई आशा नभएको बताउनुभयो । “उनीहरूले हामीमाथि यातना दिए, हाम्रा महिलामाथि दुव्र्यवहार गरे र धेरै आफन्तको हत्या गरे,” सिकन्दरले भन्नुभयो “हाम्रो घर फर्कने कुनै आशा छैन । व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने योजना पनि छैन ।”
उहाँले शिविरको जीवन निकै कठिन रहेको र विश्व खाद्य कार्यक्रम तथा अन्य संस्थाले उपलब्ध गराउँदै आएको खाद्य तथा स्वास्थ्य सहायता पर्याप्त नभएको बताउनुभयो ।
बङ्गलादेशी अधिकारीले आफ्नै देशमाथि ठूलो दबाब रहेको बताउँदै रोहिङ्ग्यालाई म्यानमारमा सुरक्षित, सम्मानजनक र दिगो रूपमा फर्काउने वातावरण बनाउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्दै आएको बताउनुभयो ।
सन् २०१७ मा म्यानमामा भएको सैन्य दमनका क्रममा रोहिङ्ग्या गाउँ जलाउने र सर्वसाधारणको हत्या गर्ने घटनालाई लिएर हेगस्थित अन्तरराष्ट्रिय अदालतमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ ।
मङ्गलबार बङ्गलादेशस्थित बेलायती उच्चायोगले जारी गरेको संयुक्त विज्ञप्तिमा विभिन्न कूटनीतिक नियोगले म्यानमारको वर्तमान अवस्थाले रोहिङ्ग्याको सुरक्षित स्वदेश फिर्तीका लागि अनुकूल वातावरण सिर्जना नगरेको बताएका छन् ।
रोहिङ्ग्या शरणार्थीलाई म्यानमास्थित आफ्नै घर फर्कने अधिकार छ, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा राखाइन क्षेत्रमा द्वन्द्व र मानवीय आवश्यकता बढ्दै गएको तथा असुरक्षा, नागरिक पूर्वाधारमाथिका हवाई आक्रमण र सहायता तथा व्यापारमा लगाइएका अवरोधले मानवीय सङ्कट थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।
