अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग
कास्की, ९ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपद्बाट प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ ।
अन्नपूर्ण–११ क्रियाशील रहेको समितिले आज गाउँपालिकालाई रु दुई लाख ५० हजार नगद सहयोग प्रदान गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनःनिर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुुर केसीले विपद्मा सहयोगी हातहरू बढ्दै गएको बताउनुभयोे । उहाँले छिमेकी गाउँपालिकाहरूबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो ।
अध्यक्ष केसीले बिरेठाँटीमा मोदीखोलाको कटानबाट जोखिममा परेको बस्तीको संरक्षण तथा क्षतिग्रस्त सडक पुनःनिर्माणको काम सोमबारदेखी सुरु भएको जानकारी दिनुभयो । मोदीखोलाको कटानका कारण बिरेठाँटी क्षेत्रको बस्ती र सडक संरचनामा जोखिम बढेपछि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको अग्रसरतामा तत्काल संरक्षण तथा पुनःनिर्माणको काम अघि बढाइएको हो ।
बस्ती संरक्षणका लागि ग्याबिन जालीमा ढुङ्गा हालेर निर्माण सुरु गरिएको हो । निर्माण कार्यमा नेपाली सेनाका १०० जनाको जनशक्ति परिचालन गरिएको छ । बाढीका कारण मोदी खोलाले आफ्नो वहाब परिवर्तन गरी बस्तीतर्फ सोझिएपछि केही दिनअघि जेसिबीको सहायताले नदीलाई पूर्ववतस्थानमा फकाइएको थियो ।
सेनाको सहयोगमा ग्याबिन जाली निर्माणलाई तीव्रता दिँदै बस्तीको सुरक्षा गर्ने र अवरुद्ध बिरेठाँटी–घान्द्रुक तथा घोरेपानी सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद्जन्य घटनाका कारण गाउँपालिकाभित्रका सडक, पुल, होटललगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।
गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।
अन्नपूर्णमा यस वर्ष बाढी र पहिराका कारणले बस्ती, सडक, पुल तथा अन्य निजी संरचनामा क्षति पुगेको छ । गत साउन २८ गतेको बाढीले अन्नपूर्ण–८ को बिरेठाँटी बजारमा कटान गर्दा बजार जोखिममा परेको छ । सोही स्थानमा बाढीले १०० मिटर सडक बगाउँदा बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क टुटेको छ ।
बाढीले बढी क्षति गरेको बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने भएकाले सडक अवरुद्ध हुँदा पर्यटकीय गतिविधि सुनसान बनेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको छ ।
