Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एल निनोले बढायो खडेरीको जोखिम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस-एएफपी)

सान साल्भाडोर, १० भदौ : मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य सङ्कटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् । पानीको सतह घटेपछि पनामा नहरमा जहाज आवागमन प्रभावित भएको छ भने एल साल्भाडोरमा वर्षाको अभावले कृषि उत्पादनमा क्षति पुगेको छ ।

पनामा मङ्गलबार एल निनोका कारण आपतकालीन अवस्था घोषणा गर्ने होन्डुरस र एल साल्भाडोरपछिको तेस्रो मध्य अमेरिकी देश बनेको हो ।

पनामाका गृहमन्त्री डिनोस्का मोन्टाल्वोले घोषणाले एल निनोबाट आउन सक्ने जोखिम सामना गर्न आवश्यक तयारी गर्न सहज हुने बताउनुभयो । गम्भीर खडेरीले कृषि उत्पादनमा क्षति पुर्‍याएपछि खाद्य अभाव र अनिकालको चिन्ता बढेको उहाँले बताउनुभयो ।

यसैबीच, एल साल्भाडोरले प्रभावित समुदायको निगरानी तथा सहायता तीव्र पार्दै देशभर मौसमजन्य र कृषि खडेरीका लागि ‘रेड अलर्ट’ घोषणा गरेको छ । वर्षाको अभावले बाली नष्ट भएपछि सिँचाइ सुविधा नभएका ग्रामीण परिवारलाई कृषि मन्त्रालयले खाद्यान्न सहयोग उपलब्ध गराउने जनाएको छ ।

एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने मौसमी अवस्था हो । यसले हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याएर विभिन्न क्षेत्रमा असामान्य मौसम निम्त्याउँछ । मध्य अमेरिकामा यसको प्रभावसँगै होन्डुरसले आफ्नो करिब ८० प्रतिशत भूभागमा सतर्कता अपनाएको छ ।

एल साल्भाडोरका धेरै नगरपालिका होन्डुरस र निकारागुआका केही भागसमेत समेटिएको ‘सेन्ट्रल अमेरिकन ड्राई करिडोर’ मा पर्छन् । यस क्षेत्रमा खडेरीसँगै तापक्रमसमेत बढेको छ । पनामा, एल साल्भाडोर र होन्डुरसले जुन र जुलाईमा मासिक तापक्रमका कीर्तिमान तोडेका छन् भने एल साल्भाडोरमा अगस्टमा मात्रै १४ तापक्रम कीर्तिमान कायम भएका छन् ।

यसैगरी, पेरुले गत साता एल निनोबाट प्रभावित करिब एकतिहाइ सहरमा आपतकालीन अवस्था घोषणा गरेको थियो । तीव्र गर्मी र असामान्य वर्षाले कृषि तथा खाद्य उत्पादनमा क्षति पुर्‍याउन सक्ने भन्दै त्यहाँ पनि सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan